काठमाडौं। नलिञ्चोक हेलिपोर्टमा उडान–अवतरण गर्न समस्या भएको छ। भक्तपुर सूर्यविनायक नगरपालिका–१०, नलिञ्चोकस्थित हेलिपोर्टमा हवाई सुरक्षासम्बन्धी कारण देखाउँदै आइतबार ४७ जना हेलिकोप्टर पाइलटले संयुक्त रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् ।
निजी क्षेत्रका हेलिकोप्टर कम्पनीका ४७ पाइलटले हवाई सुरक्षा जोखिमको कारण देखाउँदै अहिलेकै अवस्थामा नलिञ्चोक हेलिपोर्टमा उडान–अवतरण गर्न नसकिने जनाएका छन् ।
उक्त हेलिपोर्टको भौगोलिक अवस्थिति, वरपर रहेको बाक्लो बस्ती, पूर्वाधारको पूर्ण तयारी नभएको लगायतका कारण देखाउँदै अहिलेकै अवस्थामा उडान भर्न नसकिने भन्दै हेलिकोप्टर पाइलटहरूले प्राधिकरणमा सामूहिक निवदेन दर्ता गराएका हुन् । उक्त हेलिपोर्ट एक साताअघि मात्र सञ्चालनमा आएको थियो।