काठमाडौं। प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले लुम्बिनीको भ्रमण गरेको हो ।
पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठिन गरेको सार्वजनिक लेखा उपसमिति टोलीले शान्तिदीप, मायादेवी मन्दिरको अवलोकनका साथै केही विहार क्षेत्रहरूको अवलोकन गरेका छन्।
त्यसैगरी टोलीले लुम्बिनी गुरुयोजनाका काम, लुम्बिनीको विद्युतीय बस सञ्चालन, विभिन्न विकास निर्माणलगायतका विषयमा चासो राखेको छ।
भ्रमण टोलीमा संयोजक भट्टराईसहित प्रतिनिधिसभा सदस्यहरू अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, विक्रम पाण्डे, मञ्जु खाँड, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी सहभागी थिए।