फाइल तस्बिर
कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–५, डोकेबजार पाण्डौन सडकखण्ड अन्तर्गत शीतलपुर सडक समयमा नबन्दा यात्रुले सास्ती खेप्दै आएका छन्। उक्त सडकमा यतिबेला पानी पर्नासाथ सवारी साधन धकेलेरै ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।
१४ महिनामा कालोपत्रे गरिसक्नुपर्ने सडकको लेबल मिलानका नाममा ठाउँ ठाउँमा माटो थुपारिएका कारण पानी पर्नासाथ सडक हिलाम्मे हुने गरेको हो। माटो थुपारिएका ठाउँबाट सवारी साधन गुडाउन नसक्दा धकेलेरै हिँड्नुपर्ने बाध्यता रहेको यात्रुहरुको गुनासो छ।
निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलासुस्ती गरेपछि स्थानीयले हिलाम्मे सडकमा धान रोपेर दबाबसमेत दिएका छन् । प्रदेश सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०७९÷८० मा १४ महिनामा निर्माण सम्पन्न गर्ने गरेर टेडी निर्माण कम्पनीले सडक निर्माणको जिम्मा पाएको थियो ।
२०८० वैशाखमा सम्झौता भएर २०८१ साउनमा निर्माण सक्ने गरी सुरुको वर्ष ३० लाख रुपियाँ बजेट खर्चिएको र चालु आवमा विनियोजन भएको ५० लाख रकममध्ये ४७ लाख रुपियाँ खर्च भएको जनाइएको छ । प्राविधिक दुर्गा अवस्थीले पाँच करोड रुपियाँ लागतमा दुई हजार सात सय मिटर कालोपत्रे गर्न ठेक्का सम्झौता भएको हो। तर निर्माणको काम भने कति पनि अगाडी नबढेको बताइएको छ।