काठमाडौं। काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको लेनडाँडा सुरुङमार्ग छेडिएको छ। द्रुतमार्ग योजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।
सेनाका अनुसार निर्माणाधीन लेनडाँडा जोडी सुरुङ (ट्वीन ट्युब टनेल)मध्ये निजगढबाट काठमाडौँतर्फ आउने एक हजार ६१२ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको छ ।
सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरे। सो अवसरमा प्रधान सेनापतिले तोकिएको समयमानै सुरुङमार्गहरु छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरे।