रामेछाप। मन्थली नगरपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बीपी कोइरालाको जन्मथलो सिन्धुली दुम्जा र पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप भँगेरी जोडेर ‘बीपी–पुष्पलाल पर्यटन करिडोर’ बनाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन्।
नगरपालिकाले नगरका पर्यटकिय गन्तव्य प्रचार तथा मन्थली विमानस्थल नियमित सञ्चालन पहल गर्न बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा सरोकारवालाले यस्तो सुझाव दिएका हुन्।
त्यसैगरी सरोकारवालाले पर्यटन विकासका लागि मन्थली विमानस्थल बाह्रै महिना सञ्चालन हुने वातावरण बनाउनुपर्ने समेत बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन विकासका लागि चासो राखेर तीनै तहका सरकारका प्रतिनिधि तथा सरोकारवाला सहित छलफल गर्नु राम्रो भएको बताए ।
उनले रामेछाप पर्यटनका लागि सम्भावना भएको बताउँदै पर्यटकीय पूर्वाधार विकासमा सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्ने बताए ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले रामेछापको पर्यटन विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।