लमजुङ। लमजुङ दरबार पुनःनिर्माणकाे भाैतिक प्रगति हालसम्म ७० प्रतिशत भएकाे छ। पुरानै शैली र स्वरुपमा पुनःनिर्माण भइरहेकाे दरबारकाे काम लगभग अन्तिम चरणमा पुगेकाे हाे।
सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो ।गत आवमा रु एक करोड ३३ लाख बजेटबाट पुनःनिर्माण सुरु गरिएकामा चालु आवमा सरकारले जम्मा रु ५० लाख बजेट छुट्टाएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपिएस’ र यो वर्ष भक्तपुरकै ‘आरजिएस/ विष्णु जेभी’ले दरबार पुनःनिर्माणको जिम्मा पाएर काम गरिरहेका छन्।
दरबारसहित ऐतिहासिक कालिका मन्दिरको पुनःनिर्माण पनि सँगसँगै भइरहेको उहाँको भनाइ छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ ।
लमजुङको बेँसीसहर गाउँपालिका–३ गाउँसहरमा अवस्थित उक्त दरबार तथा कालिका मन्दिरलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने आवाज जनस्तरबाट उठ्दै आएको छ । जीर्ण भएर अलपत्र अवस्थामा पुगेको दरबार पुनःनिर्माणले नयाँ आशा जगाएको स्थानीय बताउँछन्।