काठमाडौं। पोखरा विमानस्थलको स्थलगत अध्ययन गर्न संसदीय समिति पोखरा पुगेको छ। राजेन्द्र लिङ्देन नेतृत्वको विमानस्थल अध्ययन उपसमिति अन्तर्राष्ट्रिय उडान हुन नसक्नुका कारण पत्ता लगाउन आइतबार पोखरा पुगेको हो।
पोखरा विमानस्थल २०७९ साल पुस १७ गते उद्घाटन भएर पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।
विमानस्थल निर्माणको क्रममै त्रुटि तथा अनियमिततासमेत भएको हुन सक्ने उजुरीको आधारमा गठित राजेन्द्र लिङ्देन नेतृत्वमा उपसमिति गठन गरिएको थियो।
अध्ययनका लागि ११ जना सांसद र २ जना कर्मचारी पोखरा पुगेका छन्।
सोमबार बिहान आयोजनाको तर्फबाट निर्माणदेखि सञ्चालनसम्मको प्रस्तुति राख्ने, त्यसपछि स्थलगत अध्ययन हुने र दिउँसो अन्तक्र्रिया गरिने बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०२३ को नयाँ वर्षको अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए । तर, अहिलेसम्म यो विमानस्थलबाट केही अन्तर्राष्ट्रिय चार्टड उडान हुनु बाहेक आन्तरिक उडान मात्र भइरहेको छ ।