चितवन। चितवनको ऐतिहासिक दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले दियालो बंगला खुला गरेका हुन्।
बंगला खुला गर्दै पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्याउने बताए।
मन्त्री तमाङले पूर्वराजाहरुले पूर्व पश्चिम र राज्यको सबै ठाँउमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको बताए ।
२०१९ सालमा निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो ।
नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए । भरतपुर वडा नम्बर १ मा रहेको यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ ।
विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।