चितवन। चितवनको इच्छाकामना गाउँपालिकामा चेपाङका लागि २२ वटा घर निर्माण गरिएको छ। चेपाङ आवास कार्यक्रमअन्तर्गत सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट चेपाङका लागि २२ वटा घर निर्माण गरिएको हो।
गाउँपालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ ।
मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे।
साँचो हस्तान्तरण गर्दै उनले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए ।
अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरुको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरिएको बताए ।
उनले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिए ।