काठमाडौं। मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव पेश गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबार बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मूलभूत समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव समितिसमक्ष पेश गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो।
समितिले बैठकमा खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव र सम्बन्धित निकायका पदाधिकारीसँग काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवम् सहज आपूर्तिका लागि देखिएका समस्या चुनौतीलगायतका विषयमा छलफल भएको थियो ।
त्यस्तै समितिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको पानी निर्वाध आपूर्तिका लागि उक्त निकुञ्जसम्बन्धी नियमावलीको अनुसूचीमा उल्लेखित रोयल्टी लगायतका आवश्यक विषयमा तत्काल आवश्यक संशोधन गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी खानेपानी आपूर्तिका लागि ईआईएसम्बन्धी प्रक्रिया टुङ्ग्याई सहजीकरण गरिदिन पनि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।