तस्बिर:कान्तिपुर
धनकुटा। धनकुटा नगरक्षेत्रमा मुख्य बसोबास गर्ने सीमान्तकृत समुदाय आठपहरिया जातिको संग्रहालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण गर्न थालिएको संग्रहालयको काम सकिन लागेको हो।
धनकुटा नगरपालिका–४ मा निर्माण गरिएको संग्रहालय उक्त जातिको विशेष पूजा गरिने बिहीबारे हाट मार्ग नजिकै रहेको छ । धनकुटालाई चिनाउने मौलिक जातीय संस्कृति रहेको जातिको भाषा, धर्म, संस्कृति र भेषभुषाको संरक्षणको लागि संग्रहालय निर्माण गरिएको आठपहरिया समाजले जनाएको छ।
धनकुटा नगर विकास समितिको तीन रोपनी क्षेत्रफलमा संग्रहालय निर्माण भएको हो । संघीय तथा प्रदेश सरकार तथा धनकुटा नगरपालिका मार्फत हालसम्म दुई करोड ८ लाख रुपैयाँको लागतमा संग्रहालय निर्माण भएको जनाइएको छ । २०७८ सालमा संघीय सांसद राजेन्द्रकुमार राई मार्फत प्राप्त ५० लाख बजेटबाट निर्माणको कार्य थालिएको थियो।
संग्रहालयमा उक्त जातिका गरगहना, पोशाक, संस्कृति भेषभुषा, दिनचर्यामा प्रयोग गरिने सामाग्री तथा जन्मदेखि मृत्युसम्मको संस्कृति झल्कने सामग्री राखिने तयारी गरिएको छ । विवाह तथा पितृका लागि तीन चुला लगायत पुराना तस्बिर, भान्छामा प्रयोग हुने वस्तुहरु समावेश गरिने बताइएको छ।