सप्तरी। छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिहरु सडक डिभिजन कार्यालय लहान अगाडि धर्नामा बसेका छन् । दुई वर्षदेखि सडक खनेर अलपत्र पारेको भन्दै आइतबार जनप्रतिनिधिहरु धर्ना बसेका हुन्।
राजविराजदेखि छिन्नमस्ता सखडा बजार हुँदै न्योर बोर्डरसम्म निर्माण भइरहेको सडक खनेर छोड्दा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएको, प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरसम्म नेपाली र भारतीय दर्शनार्थी आउन समस्या भएको तथा दुर्घटनाको जोखिम समेत बढेको भन्दै दबाबका लागि धर्ना बसेको उनीहरुको भनाइ छ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरीले सडक डिभिजन कार्यालय लहानका प्रमुख र प्राविधिकहरु, सडक विभागसहित सबै सरोकारवाला सरकारी निकायमा पटकपटक आग्रह गर्दा पनि सडक निर्माणमा तदारुकता नदेखाएपछि बाध्य भएर धर्ना बस्नुपरेको बताए। गाँउपालिका अध्यक्ष चौधरीसहित वडाध्यक्ष र स्थानीयबासीहरु समेत धर्नामा बसेका छन् ।