काठमाडौं। चितवनको मुग्लिङदेखि मलेखु सडकखण्डको १६ स्थानमा पहिरोको जोखिम रहेको पहिचान गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ४० किलोमिटर क्षेत्रमा १६ स्थानमा पहिरोको जोखिम छ भने चार स्थानमा उच्च जोखिम रहेको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले पृथ्वी राजमार्ग अन्तर्गत कार्यालयको क्षेत्रमा कृष्णभिर, घोप्टेभिर, जोगीमारा र फिसलिङ उच्च जोखिम रहेको स्थान भएको जानकारी दिए।
इन्जिनियर आचार्यले भने, “सात वर्षअगाडि र अहिलेको पहिरो जाने अवस्था फेरिएको छ । पुरानो धारबाट बग्ने पानीको बाटो फेरिएको छ, पहाड खोतलिएको छ त्यसको प्रभावले गर्दा गेग्य्रान एकै पटक झर्छ ।” पहिले पहिरोसँगै लेदो माटो आउने र सडक पुर्ने गथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । पृथ्वी राजमार्गमाथिको पहाडमा बिनाअध्ययन पहाड खोतलेर छाड्ने, कुलो निर्माण गर्ने र पानीको प्राकृतिक बहावलाई परिवर्तन गरेर बिगारेका कारण तल सडकमा पहिरो आएको इन्जिनियर आचार्यले बताए । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मा गरिएको अध्ययनले पहिरो जाने मूल कारणले माथिल्लो क्षेत्रमा निर्माण गरिएको सडक, कलभर्ट र कुलो भएको निष्कर्ष निकालेको छ । कार्यालयका सूचना अधिकारी आचार्यले सो सडक क्षेत्रमा झरेका पहिरोमा लेदो माटो नभई गेग्य्रान धेरै भएको बताए। प्राकृतिक पहिरो अहिले आएको छैन । मानव निर्मित बाटो र त्यसमा खनिएका गेग्य्रान थुप्रेर बस्ने, वर्षा भएपछि एकै पटक झर्ने भएकाले तल क्षति ठुलो हुने गरेको उनले बताए। गोरखापत्रअनलाइनबाट