म्याग्दी। जिल्लाको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा बग्ने अर्जेखोलामा पुल निर्माण गरिएको छ। २५ मिटर लामो मोटरेबल पुल सम्पन्न गर्ने सम्झौता अवधिभन्दा ९ महिनाअघि नै निर्माण सम्पन्न भएको हो।
तीन करोड ४१ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम थालेको सात महिनामै पुल तयार पारेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
२०८१ चैत २६ गतेसम्म म्याद रहेको पुलको अन्तिम चरणका काम मात्र बाँकी रहेको पूर्वाधार कार्यालयले जनाएको छ।
सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेको, कार्यालयबाट नियमित अनुगमन, सहजीकरण, जनप्रतिनिधि र उपभोक्ताको सहयोगले लक्ष्यअघि नै पुल निर्माण गर्न सम्भव भएको निर्माण कम्पनीले जनाएको छ।