काठमाडौं। खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
बिहीबार मन्त्री यादवले मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालय कार्यालयको निरीक्षण गर्दै उपत्यकामा बाह्रै महिना वितरण गर्ने व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिएका हुन्।
मन्त्री यादवले निरीक्षणका क्रममा काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली, फोहोर पानी व्यवस्थापन, पानी प्रशोधन केन्द्रहरूको निर्माण तथा सञ्चालनलगायत आयोजनाबारे जानकारी समेत लिए ।
उनले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्यबारे जानकारी लिँदै जनताको गुनासो ध्यानमा राखी मन्त्रालयका कर्मचारीसँग मिलेर काम गरिरहेको समेत बताए।