काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
महानगरपालिकाको भवन निर्माण ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा आयोगले पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
निर्देशक बोगटीसहित खरिद इकाई प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
उनीहरुले गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ।
काठमाडौं महानगरपालिका–१२, टेकुस्थित भवन निर्माण गर्न ठेक्का नं.३३१८५–०७७–७८–एनसीबीडब्ल्यू–केएमसीका लागि सार्वजनिक सूचनामार्फत बोलपत्र आव्हान बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको उजुरीको आधारमा अख्तियारले उनीहरुमाथि अनुसन्धान गरेको थियो।
अनुसन्धानको क्रममा टेकुस्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा ५ जनाकै संलग्नतामा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरी भ्रष्टाचार गरेको देखिन आएकोले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।