काठमाडौं। न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले विरोध जनाएका छन्। महानगरपालिकाले बुधबारदेखि थालेको फुटपाथ विस्तार कार्यमा स्थानीयले अवरोध सिर्जना गरेका हुन्।
स्थानीय विरोधमा उत्रिएपछि उक्त क्षेत्रमा नेपाल प्रहरी, नगरप्रहरी लगायत खटाइएको छ।
उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।
उच्च अदालत पाटनले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः विस्तार कार्य सुरु गरेको थियो।
उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले महानगरलाई लेखेको पत्र कार्यान्वयन नगर्न भनि अन्तरिम आदेश दिएको थियो। उक्त आदेश आएसँगै महानगरले सडकले विस्तारको काम सुरु गरेको जनाएको छ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गर्नुका साथै पछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
सडक डिभिजन कार्यालयको उक्त निर्णयको विरोधमा काठमाडौं महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले सार्वजनिक सडक ऐन २०३१ मा २०७५ फागुन १९ मा गरेको संशोधन अनुसार न्यूरोडको सडक शहरी सडकमा पर्ने उल्लेख गरेको छ। शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै उच्च अदालतले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि महानगरलाई विस्तार कार्य अघि बढाउने बाटो खुलेको थियो। तर महानगरले पुन विस्तार कार्य सुरु गर्नासाथ स्थानीय विरोधमा उत्रिएका छन्।