काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा विपद् व्यवस्थापन पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारीसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ। रास्वपाले सोमबार सङ्घीय संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएको हो।
रास्वपाको प्रतिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले लगेको प्रस्तावमा रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी सांसदहरू विराजभक्त श्रेष्ठ, डा.चन्दा कार्की (भण्डारी), गणेश पराजुली, असिम शाह र विन्दबासिनी कङ्शाकार समर्थक छन्।
विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरण साथै विपद्पछिको पुनःस्थापना तथा व्यवस्थापनसँग सम्बन्धि बृहत गुरुयोजना बनाउन उक्त प्रस्तावमाथि छलफल हुनुपर्ने रास्वपाका सांसदहरूले बताएका छन्।