काठमाडौं। संघीय शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मटिहानीको धार्मिक, पर्यटकीय महत्वलाई बढाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्। वुधबार बिहान मटिहानीको अतिथि गृहमा नगरप्रमुखसँग उनले यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन्।
नगरप्रमुखकाअनुसार मन्त्री झाँक्रीले सो अवसरमा त्यहाँको पर्यटकीय र धार्मिक क्षेत्रको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन्। जनकपुरको एक कार्यक्रममा भाग लिन सो क्षेत्रमा पुगेका मन्त्रीसहितका टोलीले मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा दर्शन एवं पूजापाठसँगै ऐतिहासिक एवं पौराणिक लक्ष्मीसागर पोखरीको भ्रमण अवलोकन गरेका छन्।
सो अवसरमा नगरप्रमुखले मटिहानी नगरपालिकाको ऐतिहासिक र धार्मिक महत्वको बारेमा जानकारी गराउँदै सो क्षेत्रको विकासको लागि सहयोग गर्न मन्त्री झाँक्रीसँग आग्रह गरेका थिए। मन्त्री झाँक्रीलगायतलाई नगरप्रमुखले दोसल्ला एवं मायाको चिनो प्रदान गरी सम्मान पनि गरेका थिए।