गुल्मी। निर्माणाधिन गुल्मीको रेसुङ्गा विमानस्थलको काम झण्डै ८० प्रतिशत सकिएको छ। विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार बाँकी रहेको २० प्रतिशत काम आगामी डेढ महिनाभित्र सक्ने लक्ष्य राखेर अगाडी बढाएको छ।
निर्माण व्यवस्थायीले विभिन्न कारण देखाएर धावन मार्गमा कालोपत्रे गर्ने काम प्रभावित बनेको भएपनि अहिले ८० प्रतिशत काम सकिएको छ। तर नयाँ निर्माण व्यवसायीले कामको जिम्मा लिएर काम अघि बढाएकोले समयमै काम सकिने आशा जागेको रेसुङ्गा नगरपालिका–१० का वडाध्यक्ष पदमप्रसाद अर्यालले जानकारी दिए।
धावन मार्ग कालोपत्रे गर्नका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएकाले बीचमा कुनै अवरोध नआए अबको डेढ महिनाभित्र काम सम्पन्न गर्ने निर्माण व्यवसायी दिपक पाण्डेले बताए। रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा निर्माणाधिन विमानस्थलमा २०७५ जेठ २७ गते परीक्षण उडान पनि गरिएको थियो। परीक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका थिए।
विमानस्थलको टर्मिनल भवन निर्माणका लागि बिकोई श्रेष्ठ जेभीले ०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता गरेको थियो। धावन मार्गको निर्माणको काम भने रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख लागतमा गरि रहेको छ।
०६३ सालमा तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेका थिए। शिलान्यास भएको ९ वर्षपछि निर्माणको कामले निरन्तरता पाएको हो।