काठमाडौं। जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत बिजुलपुरा–बर्दिवास खण्डमा जग्गाको मुआब्जा निर्धारण सकिएको छ।
भारत सरकारले धनुषा जिल्लाको कुर्थाबाट महोत्तरीको बिजुलपुरासम्म रेलमार्ग निर्माण गरिरहँदा त्योभन्दा अगाडिको खण्डमा पनि निर्माणस्थल खाली गरिएको हो। पहिले बिजुलपुरादेखि बर्दिवास खण्डमा जग्गा प्राप्तिको समस्या रहेको थियो।
अहिले जग्गाको मूल्य निर्धारण भइसकेको थियो। बर्दिवास स्टेसनको जग्गा प्राप्ति गरिएको उनले बताए। विभागले जग्गा छुट्ट्याइरहँदा भारतीय पक्षले ट्र्याक बनाउने तयारी गरेको छ। जिल्ला प्रशासन कार्यालयमा रहेको मुआब्जा निर्धारणसम्बन्धी समितिले जग्गाको मुआब्जा निर्धारण गरेको हो।
सरकारले भारत सरकारसँग एक दशक पहिले गरेको सम्झौताअनुसार सो रेलमार्ग निर्माण अघि बढेको छ। भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग निर्माण दुई वर्ष पहिले नै सम्पन्न भएको थियो। सरकारले गत वर्ष नै सो मार्गमा चलाउनका लागि रेल सेट खरिद गरेको थियो।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्ग बिजुलपुरा हुँदै बर्दिवाससम्म विस्तार हुनेछ। कुर्थाबाट बिजुलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर जयनगर–बिजुलपुरा ५२ किलोमिटर रहेको छ।