काठमाडौं। कास्कीको मादी गाउँपालिकादेखि मनाङको चामे गाउँपालिकाको तिमाङसम्मको मार्गलाई गुरुङ सम्पदा मार्ग घोषणा गरिएको छ।
गुरुङ पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको समारोहमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले नक्शा सार्वजनिक गर्दै गुरुङ सम्पदा मार्गको औपचारिक घोषणा गरेको हो।
मन्त्री गुरुङले पर्यटन क्षेत्रको विकासलाई दृष्टिगत गर्दै प्रदेश सरकारले प्रदेशस्तरीय पर्यटन गुरुयोजना तयार गर्ने बताए। उनले पछिल्लो समय पदमार्गहरू मासिँदै गएका अवस्थामा घोषित गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशसहित पदयात्रा पर्यटनका लागि महत्वपूर्ण बन्ने बताए।
गुरुङ समुदायको ऐतिहासिक उद्गमस्थल क्होलासोँथरसँगै जोडिएका पुरानो बस्तीसँगै प्राचीन नुन व्यापारिक मार्गलाई यस पदमार्गले समेट्ने संघका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङको विश्वास छ।