गोरखा। गोरखाको चुमनुव्री गाउँपालिकाका पाँच वटा गुम्बाको पुनर्निर्माण गर्ने जिम्मा पुरातत्व विभागले पाएको छ।
२०७२ सालको भूकम्पले क्षति पुगेकामध्ये पाँच गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्व विभागलाई दिइएको हो।
यसअघि गुम्बा पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइमार्फत हुँदै आएको थियो । प्राधिकरण खारेज भएसँगै पुनर्निर्माण हुन बाँकी गुम्बामध्ये पाँचवटाको जिम्मेवारी प्राधिकरणले विभागलाई दिएको हो।
साविकको प्रोक गाविसमा पर्ने छेकम, कानिङ र टासिछोलिङ गुम्बा र साविकको ल्हो गाविसमा पर्ने काङ्ग्युर ल्हाखाङ र पुङ्ची गुम्बा पुनर्निर्माण गर्नुपर्ने छ। गुम्बा पुनर्निर्माणका लागि प्राधिकरणले प्रतिगुम्बा ६० लाखको दरले रकम विनियोजन गरेको छ।