काठमाडौं। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको फेरि म्याद थप गरिएको छ। आयोजनाको गत साउन ८ गते म्याद सकिएपछि फेरि एक वर्षका लागि म्याद थप गर्ने निर्णय भएको हो।
आयोजनाले दुई वर्षका लागि म्याद थपको प्रस्ताव गरेको थियो। सडक विभागले निर्माण कम्पनीले दिएको तालिका अनुसार काम नभए जुनसुकै बेला ठेक्का तोड्न सक्ने सर्तसहित अन्तिम पटक भनेर एक वर्षका लागि मात्र म्याद थप गरेको जनाएको छ।
चिनियाँ सरकारको एमएस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले गरिरहेको नारायणघाट–बुटवल सडक विस्तार कार्यको हालसम्मको भौतिक प्रगति ५२.५३ प्रतिशत मात्र छ ।
आगामी फेब्रुअरी/मार्चसम्म दुई लेन सडक कालोपत्र गरिसक्नुपर्ने र म्याद थप बापत नेपाल सरकारलाई अतिरिक्त आर्थिक भार नपर्ने सर्तमा मात्र यस पटक म्याद थपको निर्णय भएको सडक विभागले जनाएको छ।