फाइल तस्बिर
म्याग्दी। ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ छेडिएको छ। मंगलबार रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नम्बर ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ जोडिएको हो।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले बाँध र अघेरीखोलाको अडिट नम्बर २ जोड्ने सुरुङमा संयुक्त रुपमा स्विच थिचेर विस्फोट गराई ब्रेक थ्रु गरेका हुन् ।
सुरुङ मार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग खण्डीकृत गरी ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ।
सुरुङ ब्रेक थ्रु भएसँगै गाउँपालिका अध्यक्ष भण्डारीले राहुघाटको मुख्य काम सुरुङ निर्माण भएकामा खुसी व्यक्त गरे।
सुरुङ ब्रेक थ्रु भएसँगै सिभिलतर्फ आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।