काठमाडौं। वायुसेवा सञ्चालक संघले हवाई सुरक्षाबारे आएका अनावश्यक टिकाटिप्पणीप्रति विश्वास नगर्न आग्रह गरेको छ।
संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै विभिन्न माध्यमबाट वायुसेवा कम्पनीहरुको हवाई सुरक्षा तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरिएको टिकाटिप्पणी भ्रमपूर्ण भएको भन्दै विश्वास नगर्न आग्रह गरेको हो।
दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र यस्तो अवस्था व्यक्ति, संस्था वा नियमनकारी निकायको चाहनामा नहुने सङ्घले स्पष्ट पारेको छ।
विज्ञप्तिमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले निर्दिष्ट गरेको प्रावधान अनुरुप सङ्घ र यसका सदस्य वायुसेवा कम्पनीहरु तथा प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशील रहेको उल्लेख गरिएको छ।