काठमाडौं। मनाङ जिल्लाको चामे गाउँपालिका र नासों गाउँपालिका सिमाना तिमाङखोला छहरामा फलामे पुल राखिएसँगै बेंसीसहर–चामे सडक सञ्चालनमा आएको छ। पुल भत्किएपछि एक महिनादेखि बन्द रहेको सडक सञ्चालनमा आएको हो।
बाढीले पक्की पुल बगाएपछि अस्थायी रुपमा सवारी साधन सञ्चालनका लागि तिमाङखोला छहरामा फलामे पुल राखिएको छ।
गत असार १७ गतेको बाढीले नै पक्की पुल भत्काएको थियो। पुल भत्काएपछि मनाङ सडक सम्पर्कबाट विच्छेद भएको थियो। खोलामा पानी नघटेका कारण पुल राख्न समस्या भइरहेका बेला अहिले पानी घटेपछि जग उठाएर फलामे पुल राखिएको बताइएको छ।
दायाँबायाँ ३–३ मिटरको ग्याविन वाल उठाइएको छ। बिमसहित ५ मिटर लम्बाई र साढे ३ मिटरको फलामे पुल निर्माण गरिएको छ।