काठमाडौं। धनगढी उपमहानगरपालिका–७ मा धनगढी मण्डली नामको चर्च भत्काइएको छ। सरकारी जग्गामा अस्पताल बनाउने भनेर निर्माण भएको चर्चसहितका अवैध संरचना उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको हो।
उपमहानगरपालिकाको कार्यालयबाट गठित स्थलगत अध्ययन समितिले अवैध संरचना रहेको निष्कर्ष निकालेपछि उपमहानगरले भत्काएको जनाएको छ।
व्यवसाय र तालिम सेमिनार सञ्चालनका लागि अनुमति लिएको नवनिर्मित दुईतले भवनमा त्योभन्दा फरक कार्य हुन थालेको पाइएपछि वडा कार्यालयले लेट मी इन धनगढी प्रालि र नेपाल लाइफ वल्र्ड मिसनको व्यवसाय समेत दर्ता खारेज गरिदिएको छ ।
सरकारी निकाय र आसपासका सर्वसाधारणसमेतलाई झुक्याएर इसाई धर्मावलम्बीको मण्डली सञ्चालन गरिएपछि स्थानीयले समेत उपमहानगरमा गुनासो गर्दै आएका थिए।