काठमाडौं। दशैंतिहारका बेला सडक मर्मतका नाममा यात्रुले दुख पाउने भन्दै चाडपर्व अगावै सडक मर्मत कार्य सम्पन्न गर्न सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले बुधबार नागढुंगा सुरुङमार्ग र नागढुंगा–मुग्लिङ सडकबारे आयोजना गरेको छलफलमा बोल्दै सांसदहरुले चाडपर्व अघि नै सडक मर्मत कार्य सक्नुपर्ने बताएका हुन्।
सांसद ठाकुर गैरेले तीजदेखि नै सडकको समस्या समाधान गरी दशैं–तिहारमा सबैलाई सहज र सुरक्षित रूपमा घर पुग्न सक्ने वातावरण बनाउनुपर्ने बताए। उनले भने, ‘काम नसकिने, तर समय थप्दै जाँदा आयोजना क्रोनिक भएर जनताले दुःख पाउनु भएन। तीजदेखि नै सडकको समस्या समाधान गरी दसैं–तिहारमा सबैलाई सहज र सुरक्षित रूपमा घर पुग्न सक्ने वातावरण बनाइनुपर्छ।’
त्यसैगरी सांसद प्रतिमा गौतमले नौबिसे–मुग्लिङ सडकअन्तर्गत पहिलो खण्डमा काम भए पनि अन्य खण्डमा अपेक्षाअनुसार काम नभएको बताइन्। उनले सडक समयमै सम्पन्न हुने अपेक्षा समेत नभएको भन्दै सडक निर्माणका नाममा यात्रुले कष्ट भोग्ने वातावरण बनाउन नहुने बताइन्। चाडपर्व नजिकिँदै गएकाले सडक मर्मत कार्य समयमै सक्नुको विकल्प नभएको समेत उनको भनाइ छ।
त्यस्तै सांसद माधव सापकोटाले गल्छीबाट अघि बढ्नासाथ सडक समस्या सुरु हुने भएकाले जनताको पीडा बुझेर सरकारले काम गर्नुपर्ने बताए ।