लमजुङ। मर्स्याङ्दी गाउँपालिका– ४ मिप्रामा निर्माण भएको माथिल्लो स्यांगे खोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।
निर्माण सम्पन्न भएको २.४ मेगावाटको यस आयोजनाको विद्युत् पुस पहिलो साताबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो।
अहिले आयोजनाको निर्माण सकिएर सिभिल संरचना तथा जडान भएका उपकरणहरूको परीक्षण सकिएको आयोजनाले जनाएको छ। आयोजनामा जडान भएको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण सफल भएको छ। नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले उत्पादन परीक्षण शुरु गरेपछि आयोजनाबाट उत्पादीत विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाको भनाइ छ।
२०७४ सालदेखि निर्माण शुरु भएको माथिल्लो स्यांगे जलविद्युत आयोजनाको काम चार वर्षमा पूरा भएको हो।
आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १२ किलोमिटर दूरीमा रहेको खुदी सबस्टेसनमा जोडिनेछ। हाल नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएकाले स्यांगेकै सबस्टेसनमा जोडिनेछ। आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ।