काठमाडौं। भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका–६ मा निर्माण भइरहेकाे फेदी खोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनाको काम हालसम्म ३० प्रतिशत पूरा भएको छ। फेदी खोला हाइड्रो पावर कम्पनी प्रा.लिले निर्माण गरिरहेको आयोजना आगामी असोजसम्म सम्पन्न गर्नेगरी काम भइरहेको हो।
आयोजनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँच मार्ग निर्माण, गोदाम घर, आवास गृह आदिको निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
फेदी खोला हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ।
यस सन्दर्भमा बिहीबार राजधानीमा कम्पनी र राष्ट्रिय वाणिज्य बैंक विच लगानी सम्झौता सम्पन्न भएको छ। सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिका तर्फबाट पूर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड रुपैयाँ बराबर रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यही साउन महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रालिबाट लि.मा अर्थात् सर्वसाधारणमा परिवर्तन गरी ४४ करोड स्वपुँजीको ३० प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निष्कासन यही आर्थिक वर्षभित्र जारी गर्ने समेत जनाएको छ ।