काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि योजना माग गरेका छन्।
प्रधानमन्त्री ओलीले आगामी मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरू रहने कार्यदललाई विमानस्थल सञ्चालनको योजना ल्याउन जिम्मेवारी दिएका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्च अधिकारीसँग छलफल भएको थियो। छलफल पछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या, समाधानका उपाय ल्याउन निर्देशन दिएका हुन्।
छलफलमा प्रधानमन्त्री ओलीले निर्माण भएको लामो समयसम्म दुई विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौं विमानस्थलको क्षमताभन्दा बढी भएको विषयलाई गम्भीर रूपमा लिँदै त्यसका लागि आवश्यक सहजीकरण गर्न समेत भनेका छन्।