काठमाडौं। काठमाडौँ–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ३५.९८ प्रतिशत भएको छ। सोमबार प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे अवगत गराउँदै हालसम्म ३५.९८ प्रतिशत भौतिक प्रगति भएको जानकारी गराएका हुन्।
२०८० वैशाख ५ गते नै सक्नुपर्ने आयोजना समयमा पूरा नभएपछि म्याद थप गरी २०८३ चैत मसान्तसम्म पुर्याइएको छ।
हाल आयोजनालाई १३ वटा प्याकेजमा राखेर निर्माण भइरहेको छ। १३ प्याकेजमध्ये ६.५ किलोमिटरदेखि ७०.९७ किलोमिटरसम्मका प्याकेज १ देखि ७, ८ क, ८ ख, ९ क, ९ ख, र १० गरी १२ वटा प्याकेज निर्माणाधीन छन्। आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् ।
ललितपुरको खोकना प्रस्थान बिन्दु र बाराको निजगढ अन्तिम बिन्दु रहेको यस सडकको लम्बाइ ७०.९७७ किलोमिटर छ। द्रुतमार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ।