सांकेतिक तस्बिर
पाल्पा। गुल्मी सडकअन्तर्गत बर्तुङ–रिडी सडक खण्डको जोर्तेमा गएको पहिरो हटाउन ब्रेकरसहितको एक्स्काभेटर प्रयोग गरिएको छ। मंगलबार अपरान्ह ५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन आज बिहान ब्रेकरसहितको एक्स्काभेटर प्रयोग भइरहेको हो।
जोर्ते नजिकै पहिरोसहित दुई ठूला ढुंगा खसेका कारण सडक आवागमन पूर्ण रूपमा बन्द भएको थियो। सडक डिभिजनले मंगलबार बेलुकी डोजर लगाएर सडक खुलाउने प्रयास गरे पनि ठूला ढुंगा भएकाले पन्छाउन सकिएको थिएन। त्यसैले बुधबार बिहान ब्रेकरसहितको एक्स्काभेटरले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
पहिरो गएर सडक अवरुद्ध भएपछि सडक डिभिजन पाल्पाले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ ।