काठमाडौं। बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा विद्यार्थीको आन्दोलनले उग्र रुप लिन थालेपछि गत सोमबार बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनामा दिएर देश नै छाडिन्। अहिले बंगलादेशमा अन्तरिम सरकार निर्माणको प्रक्रिया सुरु भएको छ। बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको हाे। तर राजनीतिक अन्याेलता भने कायमै छ।
बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमको प्रभाव भने नेपालले बंगलादेशमा निर्यात गर्ने विद्युत सम्झौतामा परेको छ। नेपालबाट बंगलादेशले खरिद गर्ने ४० मेगावाट बिजुलीका लागि नेपाल, भारत र बंगलादेशबीच हुने भनिएको खरिद–बिक्रीसम्बन्धी सम्झौता यति बेला अनिश्चित बनेको हो।
गत साउन १३ गते नै बिजुली बिक्रीका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षिय सम्झौता गर्ने तयर भएको थियो। बंगलादेशमा आन्दोलन चर्किँदै गएपछि सम्झौता मिति अगस्टको अन्तिमसम्म गर्ने भनेर बंगलादेशले पत्र पठाएको थियो।
अब बंगलादेशको सरकार नै नयाँ बन्दैछ। कुनै पनि सम्झौता नयाँ सरकारमा निर्भर हुने हुँदा उक्त ४० मेगावाट विद्युत खरिदबिक्री सम्झौता के हुन्छ भन्ने अन्योल भएको छ।