काठमाडौं। पर्यटन व्यवसायीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रका समस्याबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई जानकारी गराएका छन्।
नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेशले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा मन्त्री पाण्डेलाई स्मरणपत्र बुझाएका हुन्।
स्मरणपत्रमा पर्यटनका लागि आवश्यक गुणस्तरीय पूर्वाधार नभएको, सडक सञ्जाल कमजोर, विमानस्थल बनेर पनि उडान हुन नसकेका विषय उल्लेख गरिएको छ।
पर्यटन क्षेत्रको बजारीकरण कमजोर बन्दै जानुु, पर्यटन बोर्डले आफ्नो कार्य क्षेत्र र उद्देश्य विपरित बजेट विनियोजन गर्नु, आर्थिक अनियमितता जस्ता विषय समस्याका रुपमा देखिएको समेत उक्त पत्रमा उल्लेख गरिएको छ।
पदयात्रा पर्यटनमा सम्भावना भएका र पदयात्राको हिसावले ख्याति कमाएका क्षेत्रमा विना अध्ययन निर्माण गरिएका सडक व्यवस्थित गर्नुुपर्ने, पर्यटकीय क्षेत्रमा मौलिक घरका संरचना संरक्षणका लागि नीति नै बनाएर अघि बढ्नुुपर्ने समेत उनीहरुको भनाइ छ।