दोलखा। दोलखाका सांसदहरुले दोलखाको लामाबगर-फलाक नाका सडक निर्माण गर्न सरकारसँग माग गरेका छन्।
दोलखाका प्रतिनिधिसभा सांसद ईश्वरी रिजालसहित प्रदेश सांसद, पूर्वमन्त्री तथा पूर्व सांसदसहितको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर लामाबगर फलाक नाका सडक निर्माण गर्न माग गरेका हुन्।
उनीहरुले चीनको फलाक नाकाबाट दोलखा, रामेछाप, सिन्धुली, बर्दिवास, महोत्तरीहुँदै भारतको भिटामोड नाका जम्मा २२० किलोमिटरमै पुग्ने भएकाले उक्त सडक चाँडो निर्माण हुनुपर्ने बताए।
उनीहरुले उक्त सडक निर्माण गर्न अहिलेकै आर्थिक वर्षमा न्यूनतम ५० करोड रकम विनियोजन गर्न समेत माग गरेका छन्। रकम विनियोजन गरी बहुवर्षीय आयोजनाका रुपमा ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने उनीहरुको भनाइ छ।