काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षा सुधारका लागि आजैदेखि पहल थाल्ने बताएका छन्।
बुधबार हेलिकप्टर दुर्घटना भएपछि एक विज्ञप्ति जारी गर्दै मन्त्री पाण्डेले हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गर्ने बताएका हुन्।
मन्त्री पाण्डेले अति जरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता समेत व्यक्त गरे।
मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधानका लागि मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन समेत अनुरोध गरेको छ।