काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट बिजुली प्रयोग गरेको प्रमाणका रूपमा टीओडी मिटरको विवरण समेटिएको एक ट्रक कागजात संसद्को सार्वजनिक लेखा समितिमा पठाएको छ।
लेखा समितिले डेडिकेटेड तथा ट्रंक लाइनसम्बन्धी महसुल विवाद रहेका सम्पूर्ण ६१ उद्योगहरुमा जडान भएको टीओडी मिटर डेटा डाउनलोडको प्रमाणित विवरणहरु माग गरेपछि प्राधिकरणले करिब ५० हजार पेजको ३० पोकामा एक ट्रक कागज पठाएको बताइएको छ।
डेडिकेटेड र ट्रक लाइनको महसुलबारेको विवादबारे छलफल गर्न केही दिनअघि मात्र बसेको लेखा समितिको बैठकले ५ दिन भित्र टीओडी मिटरको विवरण पेश गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो।
उद्योगीले विद्युत् खपत गरेको प्रमाण नभई प्रिमियम महसुलको विल नतिर्ने अडान लिइरहेका छन् भने प्राधिकरणले लोडसेडिङकाे समयमा विशेष सुविधासहित खपत गरेको विद्युत्को प्रिमियम बिल तिर्नुपर्ने अडान लिइरहेको छ। यसै बेला प्राधिकरणले विद्युत् खपत भएको खुल्ने टीओडी मिटरकै विवरण समितिमा पेश गरेको दाबी गरेको छ।