काठमाडौं। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालमा हवाई मापदण्ड कार्यान्वयन भए नभएको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिको बिहीबार बसेको बैठकले मन्त्रालयलाई नेपालमा हवाई मापदण्ड तथा नागरिक उड्डयन सम्बन्धी कानुन र अन्तर्राष्ट्रिय अभ्यास कार्यान्वयन भए नभएको छानबिन गर्न निर्देशन दिएको हो।
समितिले उक्त छानबिनका लागि विज्ञहरू संलग्न छुट्टै स्वतन्त्र समिति बनाउन समेत निर्देशन दिएको छ। समितिले १५ दिनभित्र छानबिन गरिसक्न र नीतिगत सुधारको सिफारिस तथा कोही दोषी देखिए कारबाहीको सिफारिस गनए समेत भनेको छ।
बिहीबार पर्यटन मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग समितिले छलफल गरेको थियो।
समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसदमा पेश गर्नर गराउन पनि सरकारलाई निर्देशन दिएको छ।