काठमाडौं। यो तस्विर केही दिन अगाडि मात्र प्राप्त भएको हो। यो तस्विर साथी बब निकोल्सले पठाइदिनुभएको हो। अमेरिकी पिसकोर भोलेन्टियरका रुपमा करिव ५५ वर्ष अगाडि नेपालमा बस्नुभएका बब निकोल्स ५ वर्ष अगाडि पुरानो सम्झनाहरु ताजा गराउन अर्का पिसकोर भोलेन्टियर पेरी लाटसन आ–आफ्ना श्रीमतीका साथ नेपाल आउनुभएको थियो। पोखरामा राम्रोसंग सबै ठाउँ घुमाइदिएको थिए। बब निकोल्स र पेरी लाटसनले ५० वर्ष भन्दा अगाडि खिच्नुभएको १ हजार भन्दा बढी तस्विरहरु पठाइसक्नुभएको छ।
यो तस्विर भने बब र पेरी दुबैले खिचेको होइन। यो तस्विर पिसकोर भोलेन्टियरको ११औं समुहमा नेपाल आउनुभएको बब लुडविगले खिच्नुभएको हो । वहाँले खिच्नुभएको तस्विरहरु स्क्यान गरेर ब्यबस्थित गर्नु अगाडि नै आजभन्दा केवल दुइ वर्ष अगाडि सन २०२२ मा लुडविगको निधन भएको थियो। सन १९६६ देखि ६८ सम्म लुडविग नेपालमा रहनुहुँदा रौटहट जिल्लामा काम गर्नुभएको थियो। वहाँले खिच्नुभएका तस्विरहरु बब निकोल्सले ब्यबस्थापन गर्दै हुनुहुन्छ। यसका साथै मलाई पठाउँदै गर्नुभएको छ। आज पनि केही तस्विरहरु प्राप्त भएको छ।
यो तस्विर पोखरा विमानस्थलको हो । विमानस्थलको टर्मिनल भवल भर्खैरै बन्न लागे जस्तो देखिन्छ । यो तस्विर होटल हिमालयनको प्रांगणमा बसेर खिचिएको हो । होटल हिमालयन, बिदेशी पर्यटक लक्षित पोखरामा शुरु तिर खोलिएको होटल पनि हो। एक तले माटोको गारो भएको यो होटल विमानस्थलको पश्चिम तर्फ अग्लो डाँडा माथि थियो। यो होटलको शायद समकालीन अर्को होटल, होटल अम्बर खुलेको थियो। यी होटलहरुपछि होटल स्नो भ्यू खुलेको थियो। सुनिल उलकको फेसबुकबाट