सुर्खेत। कर्णाली प्रदेशका उद्योग, पयर्टन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णाली प्रदेशका पर्यटकीयस्थलहरु पुग्न बनेका सडकहरुको स्तरवृद्धि गर्ने बताएका छन्।
मन्त्री बनेपछि शनिबार पत्रकारसँगको भेटघाटमा मन्त्री अधिकारीले पर्यटकीयस्थलमा सहज रुपमा पर्यटक पुग्नका लागि बनेका सडकहरुलाई स्तरवृद्धि गर्ने र भएका संरचनालाई व्यवस्थित गर्नतर्फ लाग्ने बताएका हुन्।
उनले कर्णालीको पहिचानको रुपमा रहेका रारा, मिनी राराको रुपमा चिनिने कुपिण्डेताल, स्यार्पुताल लगायत धार्मिक पर्यटकीयस्थल विकासका लागि विगतमा धेरै बजेट विनियोजन भए पनि प्रभावकारी काम हुन नसकेकाले सोचेअनुसार बाह्य पर्यटक भित्र्याउन नसकेको बताए। साथै आगामी दिनमा प्रभावकारी काम अगाडि बढाउन र सबै खाले पर्यटकीयस्थललाई अवलोकन गर्न लायक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।
मन्त्री अधिकारीले उद्योग संचालनका लागि नीति सहज खालको बनाउन लाग्ने समेत बताएका छन्।