काठमाडौं। नेपाली सेनाले हवाइ दुर्घटना न्यूनिकरण गर्नका लागि मौसमी सूचना दिने आधुनिक प्रविधि जडान गर्नुपर्ने सुझाव दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारबारे आइतबार रक्षामन्त्री, प्रधानसेनापति साथै दुई मन्त्रालयका सचिवहरूसँग गरेको छलफलमा नेपाली सेनाले यस्तो सुझाव दिएको हो।
छलफलमा नेपाली सेनाका अधिकारीहरूले तालिम र व्यवस्थापन, अवलम्बन गरेका असल अभ्यासबारे सुझाव दिएका छन्। भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्न ठाउँ–ठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नुपर्ने उनीहरुको भनाइ छ।
अनुभव साट्ने क्रममा नेपाली सेनाका अधिकारीहरूले हवाई सुरक्षाका लागि ‘ओभरअल सिस्टम’ (समग्र प्रणाली) र नियम कानुनको कमी नभएको तर कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने सुझाव समेत दिएका छन् ।
धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनुपर्ने, नागरिक उड्डयन प्राधिकरण, आइकाओ र नेपाली सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमन गर्नुपर्ने समेत सेनाले सुझाव दिएको छ।