रुकुमपूर्व। देउखोला–नायगाड–त्रिवेणी सडकखण्डको ठेक्का तोडिएको छ। रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१४, देउखोला–सिस्ने गाउँपालिका–२ नायगाड–पुथाउत्तरगङ्गा त्रिवेणी सडकखण्डमा पटक पटक म्याद थप गर्दा समेत काम नसकिएपछि ठेक्का सम्झौता तोडिएको हो।
छ वर्षमा ८ पटक म्याद पर्दा समेत काम गर्न नसकेपछि बाध्य भएर ठेक्का तोड्नु परेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना रुकुमपश्चिमले जनाएको छ।
ठेक्का तोडेर नयाँ ठेक्काका लागि प्रक्रिया समेत थालिएको आयोजनाले जनाएको छ।
यस खण्डको सडक निर्माणमा नेपाल सरकार र एसियाली विकास बैङ्कको लगानी रहेको छ । २८ करोड ६९ लाख २८ हजार रुपियाँ बजेटमा देउखोला–नायगाड–त्रिवेणी सडकखण्डको ११.६ किलोमिटरमा ट्र्याक खोलेर कालोपत्रे गर्ने गरी २०७५ असोजमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना र पिएच/शङ्कर माली जेभीबीच सम्झौता भएको थियो।