काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल–कोरिया हवाई भाडा महंगो भएको भन्दै दक्षिण कोरियाको ध्यानाकर्षण गराएका छन्। मन्त्री पाण्डेले सोमबार दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युजिन रोङसँगको भेटवार्तामा नेपालबाट कोरिया जाने हवाई भाडा महंगो भएको जनगुनासाे बारे जानकारी गराएका हुन्।
नेपालमा कोरियाबाट बर्सेनि ३० हजार पर्यटक आउने गरेको तथ्यांक रहेको बताउँदै कोरियाका पूर्वमन्त्री युजिनले नेपाल–कोरिया दुई मित्र देशबीचको मित्रवत सम्बन्धको प्रशंसा गरे। उनले हवाई भाडा घटाउन कोरिया सरकारसँग पहल गर्ने समेत बताए।
भेटमा मन्त्री पाण्डेले नेपाल–कोरिया सम्बन्ध स्थापनाको ५०औं वर्ष पुगेको स्मरण गर्दै नेपाल–कोरियाको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गरे।
मन्त्री पाण्डेले सन् २००५ मा नेपाल र कोरियाबीचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्दै दुई देशबीच संस्कृति, शिक्षा, युवा, खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुगेको बताए ।