काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकमारी यादवले विद्युतीय सवारीसाधनको अधिकतम प्रयोग गर्नका लागि विभिन्न आवश्यक पूर्वाधार निर्माण र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।
थाइल्याण्डको राजधानी बैङ्ककमा जारी ‘यातायातसम्बन्धी एसिया प्रशान्त क्षेत्रका राष्ट्रका मन्त्रीस्तरीय सम्मेलन’मा भर्चुअल सम्बोधन गर्दै उनले शहरी सार्वजनिक यातायात, विद्युतीय यातायात र सडक सुरक्षासम्बन्धी सरकारको योजनाबारे जानकारी दिएकी हुन्। नेपाल सरकारले राष्ट्र सङ्घको दिगो विकास एजेण्डा २०३० लाई आफ्नो नीति तथा कार्यक्रममा राखिसकेको र पेरिस सम्झौता अनुसार यातायात क्षेत्रबाट हरित गृह ग्याँसमा परिरहेको प्रभाव घटाउने उनले बताएकी छिन्।
यसैगरी सार्वजनिक यातायातलाई अझै बढी दीगो, समावेशी र वातावरणमैत्री बनाउन सरकारले निरन्तर प्रयास गरिरहेको उनले जानकारी दिएकी छिन्। उनले सरकारको यो प्रयासमा हातेमालो गरी सहयोग गर्न एसिया प्रशान्त क्षेत्रका सबै सदस्य राष्ट्रहरु, संयुक्त राष्ट्र सङ्घ, यसका संस्था र विकास साझेदार संस्थालाई आग्रह गरेकी छिन्।