काठमाडौं। कर वृद्धिको विरोधमा व्यवसायीहरुले आन्दोलन गरेका छन्। मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायीले आन्दोलन गरेका हुन्।
उनीहरुले कर वृद्धिको निर्णय फिर्ताको माग गर्दै हेटौंडा बजारमा विरोध र्याली गर्नुका साथै हेटौंडा उपमहानगरपालिकाको गेटमा धर्ना समेत दिएका छन्। र्यालीको कोणसभामा बोल्दै संघका अध्यक्ष कृष्ण गुप्ताले आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीलाई ढाड सेक्ने गरी गरिएको कर वृद्धि स्वीकार नहुने बताए।
आन्दोलनमा निर्माण व्यवसायी संघले समेत एक्यवद्धता जनाएको छ। गत आइतबार कर वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको थियो ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि वाहलकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको छ।