हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटमा नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भर्चुअल रूपमा सिमकोटमा उक्त सेवाको शुभारम्भ गरेका हुन्।
शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालयसम्म दूरसञ्चार सेवा पुर्याउन नेपाल टेलिकमले महत्त्वपूर्ण भूमिका खेलेको बताए। सिमकोटमा एनटी फाइबर सेवा पुगेसँगै ७७ वटै जिल्लामा फाइबर सेवा पुगेको समेत उनले जानकारी दिए।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले पहिले कपर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा पनि स्तरोन्नति हुने जानकारी दिइन्।