काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि कालोपत्रे नभई बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणको कार्य चाँडै शुरु हुने बताएका छन्। कञ्चनपुर उद्योग वाणिज्य संघको टोलीले कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणको कार्य यथाशीघ्र सञ्चालन गर्ने लगायतका माग राखेर मन्त्री आलेलाई मन्त्रालयमा नै पुगेर ज्ञापन पत्र पेस गरेपछि मन्त्री आलेले उक्त विमानस्थलको काम चाँडै अगाडी बढाउने बताएका हुन्।
ज्ञापन पत्र बुझ्दै मन्त्री आलेले भने, “बन्द रहेका विमानस्थल सुचारुका लागि प्रक्रिया अगाडी बढी रहेको छ, मझगाउँ विमानस्थल स्तरोन्नति लगायतको काम चाँडै अगाडी बढाउँछौँ।” यसैगरी मन्त्री आलेले विमानस्थलको निर्माण कार्य चाँडै गर्ने र लिङगेश्वर तथा झिलमिला क्षेत्रको प्रवर्द्धनका लागि पनि बजेट विनियोजन गर्न लगाउने आश्वासन दिएका छन्। ज्ञापन पत्र बुझाउन आएको उक्त टोलीले ब्रम्हदेव–टनकपुर नाकालाई धार्मिक पर्यटन नाकाको रूपमा सुचारु गर्न, वनवसाको पुल २४ सै घण्टा सञ्चालनमा ल्याउन र कञ्चनपुरका धार्मिक पर्यटकीय क्षेत्र लिङ्गेश्वर महादेव (लिङ्गा) झिलमिला ताल, वेदकोट तालको प्रवर्द्धन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको निजी क्षेत्रको सहकार्यमा प्रवर्द्धन गर्नुपर्ने लगायतका माग मन्त्रीसमक्ष राखेका थिए।