धनकुटा। धनकुटाको सिधुवा–शुक्रबारे जोड्ने सडक कालोपत्र गरिएको छ। कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा १७ किलोमिटर सडक कालोपत्र गरिएको हो।
कालोपत्र सम्पन्न भएको सडकको गत साताको बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् ।
मुख्यमन्त्री कार्कीले सडक उद्घाटन गर्दै उक्त सडक निर्माणले स्थानीय बजार प्रवर्द्धन र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए। उनले पहाडको बसाइँसराई रोक्न र कृषि तथा पर्यटनलाई विकास गर्न यो सडक महत्वपूर्ण हुने दाबी समेत गरेका छन्।
सडक निर्माणपछि धनकुटा र तेह्रथुमको कृषि, पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ।